शिल्पीले छोएपछि
धेरै कुरा हुन्छ
शिल्पीले पत्थर छुन्छ मन्दिरको मूर्ति बन्छ
दुनियाँ त्यसैको पूजा गर्छ ।
शिल्पीको पसिना माटोमा चुहिन्छ
धर्ती उर्वर हुन्छ
शिल्पीकै परिश्रमले अन्न फल्छ
घर–घरमा पुग्छ,
भान्सा–भान्सामा पुग्छ
शिल्पी नै अन्नदाता हुन्छ ।
थानका थान कपडा शिल्पीले बुन्छ
शिल्पीकै सीप परेपछि
दुनियाँको आब ढाक्ने नानाथरी वस्त्र बन्छ
लाज छोप्नदेखि सौन्दर्य बढाउन
शिल्पीले सिएको वस्त्र चाहिन्छ,
शिल्पीकै सीप लागेपछि
धातु गहना बन्छ
दुनियाँका नाक–कानमा सजिन्छ
गला–गलामा इज्जतसाथ पहिरिन्छ
त्यही गहना धनदौलतको मानक बन्छ ।
चुहिएको छानो र धुरी शिल्पी चढेर छाउनुपर्छ
हँसिया, कुटो, कोदालो
शिल्पीले नै बनाउनुपर्छ ।
शिल्पी नभए गाउँघरमा आगोसमेत बल्दैन
धेरै त के भनूँ
शिल्पीबिना एउटा सुकेको हाँगोसमेत ढल्दैन ।
सहरमा मेसिन चलाउने पनि शिल्पी नै हो
सडकमा गाडी गुडाउने पनि शिल्पी नै हो
राजा–महाराजाका दरबार बनाउने पनि शिल्पी हो
सभ्यताको इतिहास लेख्ने पनि शिल्पी हो
भविष्यको सपना देख्ने पनि शिल्पी हो
मन्दिरमा गजुर लाउने पनि शिल्पी हो
आफू सधैँ पैताला बनेर,
हेपिएर–च्यापिएर
हजुरलाई गजुर बनाउने पनि शिल्पी हो ।
शिल्पीले छोएपछि धेरै कुरा हुन्छ
नबन्ने काम पनि बन्छ
नसोचेको कुरा पनि हुन्छ
तर आफैँँले बनाएको मन्दिरमा
ख्वामितलाई पुजारी बनाएपछि
शिल्पी पसेर पूजा गरे के हुन्छ ?
आफैँले फलाएको अन्न ख्वामितका भान्सामा पुगेपछि
सँगै बसेर भुजा गरे के हुन्छ ?
शिल्पीले रब्गाएपछि अँध्यारो बस्ती उज्यालो हुन्छ,
शिल्पीले धोए–टल्काएपछि मैलो वस्तु सुकिलो हुन्छ,
तर पछि उसैले छुँदा कसरी त्यो जुठो र अपवित्र हुन्छ ?
बिरामी परे शिल्पीकै रगत शरीरमा हाल्न हुन्छ
शिल्पीकै श्रम र पसिनाले चुलो बाल्न हुन्छ
आफ्ना दुःखमा त शिल्पीसँग जे छ
त्यही लिएर टाल्न हुन्छ
शिल्पीकै काँध चढेर सारा राज्यसत्ताको ’पौरख’ सम्हाल्न हुन्छ
यसो गर, उसो गर, जतिखेर पनि शिल्पीको साथ चाहिन्छ
त्यही शिल्पी समान हैसियतमा
ख्वामितको साथी हुनचाहिँ के हुन्छ ?
रगत रातै छ, मान्छे मान्छे नै हो,
तर उसले छुनचाहिँ के हुन्छ ?
साँच्चै शिल्पीले छोएपछि के हुन्छ ?







