हमिङबर्ड

उता, बगैँचाको छेउमा झुन्ड्याइएको
हावाको झोक्काले बजाउने घण्टीले
सुमधुर धुन बनाएको बेला
टिन… टाङ, टिन….टुङ..
टिन .. टाङ, टिन …टुङ . .

टेक्सासको यो वसन्त बिहानीमा
आँगनमा झुलेका फूलहरूलाई
भर्खरै सूर्योदयको पहिलो स्पर्शले
चुम्बन गरेको बेला
यता, भरिला शीतबिन्दुहरू चम्किए!

भर्खरै, आफैँले ‘ब्रु’ गरेको
ताजा ‘एस्प्रेसो’ को सुगन्धले
मेरो मस्तिष्कमा
अरोमाको अर्केस्ट्रा बजाउन लागेको थियो।

टिन..टाङ, टिन.. टाङ घण्टी;
हावाको शीतल स्पर्श;
शीतबिन्दुको चमक;
अनि कफीको गमकबीच;
हरेक बिहानजस्तै हमिङबर्डहरू
भुनभुनाउँदै आए!

हरेक फूलहरूलाई
मैले कफी चुमेझैँ चुमेर,
शीतबिन्दुहरू भुइँभरि छरेर ,
अनि मेरो मन हरेर गए!

शायद उनीहरू आफ्ना बचेराका लागि
जीवनजल लिन आएका थिए!

म पनि हमिङबर्डजस्तै,
हरेक बिहानको कफीपछि
आफ्ना नवजात सन्तानहरूका लागि
जीवनजल कमाउन जानु छ!
ईश्वरको यो प्रेम र लीलालाई
हमिङबर्डहरूले जस्तै,
मैले पनि थाम्नु छ!

ईश्वरले-
हरेक रात फूलहरूमा
शीतबिन्दु छर्छ;
ईश्वर-
हरेक बिहान
हावाको स्पर्शबाट घण्टीमा धुन भर्छ;
ईश्वरले-
हरेक बिहान मेरो मनमा
प्रेम सँगै कफीको अरोमा छर्छ;
ईश्वर-
हरेक बिहान हमिङबर्डहरू मार्फत्
मेरो फूलबारीको नृत्यमा झर्छ!

अस्टिन, टेक्सस, १४ जुन २०२६

Leave a Comment