भगवान् पनि निष्ठुरी हुँदा रहेछन्,
पीडा दिन हतारिँदा रहेछन्।
भन्छन्— जन्म दिएपछि कर्म पनि दिन्छ,
त्यसैको विश्वासमा अँध्यारोलाई
उज्यालोले पछ्याउँछ।
तर होइन रहेछ,
यसले त झुक्याउँदो मात्र रहेछ।
पेट चाउरी पर्यो,
गाला सुक्यो।
छोरालाई उज्ज्वल भविष्यको
आशीर्वाद दिने बूढा बाबुआमाका
इच्छा र आकाङ्क्षालाई,
वर्षाको भेलले बगाएर लग्यो।
गरिबीको ताण्डवले तिलमिलाएर,
गुन्टा कसी अनकन्टार देशमा
श्रम बेच्न पुग्यो यो ज्यान।
त्यहाँ सहजै श्रम बिक्दो रहेछ,
मिहिनेत र परिश्रमको फल पनि
त्यहाँ छिट्टै पाक्दो रहेछ।
पसिना बगाउँदै जाँदा,
आफ्नै परिश्रमले
सुनको अण्डा पार्दो रहेछ।
त्यो देख्दा र थाहा पाउँदा सायद,
जन्मभूमिलाई पनि ईर्ष्या हुँदो हो कि !
अनायासै निधारमा ‘विदेशी’को
छाप लगाइदिन हतारिँदो रहेछ।
जन्मका आधारमा हेर्दा यो शरीरको,
नसानसामा नेपाली रगत नै बगेको छ।
आफूले विदेशमा कमाएको सुनको अण्डा,
स्वदेशको आँगनमा पनि पुगेकै छ।
तर पनि मेरै तर्फ
‘विदेशी’ भनेर किन औँला तेर्स्याइन्छ ?
अनि मनले बारम्बार सोधिरहन्छ—
के म नेपाली होइन र ?







