चञ्चला, के सन्देश छ ? कोही छ बाहिर ?’
’रानी, वानरपाल बुलाहा लिएर आएका छन् ।’
’वानरपाल ? बुलाहा ? के भन्दै छ्यौ ? कुन भाषा बोल्छे यो केटी ?’
एकैछिन अलमलमा परिन् रानी, अनि उदेक र सङ्कोच मानेर चञ्चलाले भनी– ’कोही पर्खँदै छ ढोकामा ।’
’रानी’ भनेर उसले झुकेर अभिवादन गर्यो । अनि भन्यो– ’रानी उर्दी गयो, त्यसैले यो बुलाहालाई ल्याएको हुँ । हजुरलाई बुझाएर फर्किहाल्छु । अनि मनमनै गुन्यो, यो खुसी हुने भो बाँदर्नी रुने भए ।’
’ए जा पपु, रानीको काखमा जा । डराउनु पर्दैन ।’ वानरपालले भन्नासाथ बुलाहा रानीको काखमा यसरी टाँसियो, मानौँ भोको बालक आमाको छातीमा पुगेर प्रशान्त भएको हो ।
बुलाहा पोथीप्रिय त थियो नै, उसको व्यक्तित्वको भालेपन उस्तै आकर्षक र लोभलाग्दो थियो— मस्त, पूर्ण जवान र गम्भीर पनि । हो न हो, ऊ राजसी प्रकृतिको समझदार हो ।
’रानी, अब म जान्छु । पपु यहाँ हजुरसँगै रहन्छ, जे गर्नु छ गर्दा हुन्छ । रिसाउने गर्दैन यो ।’
’यो पपु हो ?’
’हजुर, छोटो नाम– पवन पुत्रकाे।’
’अनि बुलाहा चाहिँ ?’
’उसँगै भएको साँढेपन, भालेपन । उसको व्यक्तित्व र नेतृत्वले यसलाई बुलाहाको रूपमा स्थापित गर्दछ । मैले बुझाइसकेँ रानी, यसले हजुरलाई माया गर्छ । चकचक गर्दैन, तर्साउँदैन, मायालु हुन्छ ।’
बुलाहाका लागि खानेकुरा आयो । वानरपाल बिदा भएर निस्कियो । पर्खालबाहिर बाँदर्नीको बथान पर्खिरहेको थियो । तिनलाई देखेर उसले गुन्यो– रानीले बुलाहाको भ्यासेक्टोमी (बन्ध्याकरण) गराउँछिन् । बिचरा बाँदर्नीहरू, यिनको वंश विनाश हुने भाे । रानीको बुद्धि पनि कस्तो !
अर्को दिन बिहान रानी बुलाहालाई लिएर फूलबारीतर्फ लागिन् । बाँदरको बगालले आक्रमण गर्यो । तिनले बुलाहाको आचरणमाथि शङ्काको नजरले हेरे क्यारे !
अर्को दिन फूलबारीमा बुलाहा (पपु) मरेको भेटियो ।
बाँदरले चिथोरेर र टोकेर मारेको होला भन्ने लाग्थ्यो । रानीले गुनिन्, ’मेरो गन्ध बुलाहाको शरीरमा थियो । त्यही थाहा पाएर बाँदर्नीले चिथोरेर मारे ।’ बुलाहाको क्रीडा र प्रणय विलास सम्झेर रानी एकोहोरो भइन् । त्यहाँ अब कुनै प्रश्नोत्तर र तर्कवितर्कको औचित्य थिएन ।
सेविका, नानीहरूले संवाद गरे– “बाँदर्नीले आफ्नो बुलाहा बिटुलिएको थाहा पाए नि, बुझ्यौ ?“
“हो, आफ्नो अधिकारमा अर्कोको गन्ध आउन हुँदैन भन्थे, त्यही त होला नि !“
“तर रानी त्यसबेला बुलाहाको ढाँचा र ढङ्ग देखेर मुग्ध देखिन्थिन् । कति खुसी थिइन् । अहिले वैधव्य–भावले झोक्राएर बसेकी छन्, देख्यौ ?“
आँखाले नदेखेका कुरा के के हुन् के के ! खै !
रानी अस्पताल भर्ना भइन् । निरीक्षण, परीक्षण तथा परिस्थिति र सबै कुरा बुझिसकेपछि अस्पतालले रिपोर्ट आउट गर्न मानेन । उनले शङ्का गरिन् आफैँमाथि । क्रुद्ध भइन् बाँदरपालसँग ।
केही महिनापछि फेरि रानी चञ्चलालाई साथ लिएर विदेशतर्फ लागिन् । रानीको निवास र स्थानीय अस्पतालमा सञ्जयवंशीको चहलपहल बढ्न थाल्यो ।
शक्तिमा पुगेकाहरूले, के बोल्ने, के गर्ने र कहाँ पुग्ने भन्नेबारे समाजमा नयाँ बहस सुरु भयो । घटनाको तीव्र विकास र परिणामले मुलुक र जातिको शिर निहुरेको ठान्नेहरू पनि भए । नौलो कदममाथि प्रहार गर्न नचुक्ने पनि देखिए ।
यस घटनाले सञ्चार दुई साता तातेर सेलायो ।






