सबभन्दा एक्लो जीव

वासु शशी

सबभन्दा एक्लो जीव रूख हो

जो कसैसित भेटन जाँदैन !

के आफ्नो छायाको मान्द्रो विद्याउँछ

जो उसकै हावाले च्यातिदिन्छ !

अरूहरू उसका कोही छैनन्

ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !

ऊ मानो केबल एउटा ठाउँ हो

जहाँ वसन्त आफूलाई उपलब्ध गर्न आउँछ !

अथवा समयमात्रै हो

जो जहिले पनि केवल ‘बित्छ’ !

उसका बारेमा सबभन्दा व्यर्थ कुरो हो

साथमा अरू रूख पनि हुनु,

उसका हाँगाहरू भाँचिनु,

अथवा ऊ उम्रदै नउम्रेको हुनु !

क्यै’ नहुनु बरोबर क्वै’ नहुनु बरोबर

ऊ आफूमात्रै छ !

ऊ एकान्तमा छ होइन

ऊ स्वयं एक्लो छ !

‘यस्तो यौटा फूल चाहिन्छ’ कवितासङ्ग्रहबाट

Leave a Comment