हृदय

“भन्नुस् न, तपाईंको घर कहाँ ?” मीठो बोलीमा बेलुकी दस बजेको समयतिर त्यही ठाउँमा, जहाँ उनीहरूको दिनहुँजसो भेट हुन्थ्यो, कमलाले सोधिन् । 

“त्यहीँ त हो नि ।” कमलाका कोमल हात सुमसुम्याएर किरणले भने । नयाँ प्रेममा, नयाँ छटा फिजाउँदै उनीहरूको प्रेमले वसन्तको पालुवा हालिसकेको थियो । गाढा प्रेम, दुवै एक । उनीहरू आफैँ यसमा आश्चर्यचकित थिए— कसरी यति छिटै प्रेम बस्यो ! 

किरण र कमलाको प्रेम भएको ढङ्ग अनौठै थियो । 

फागुनको अन्तिम दिन, जताततै फागुको रङ्गीन दृश्यले ढपक्क ढाकेको रमाइलो समय । मदनको कोठामा बसेका किरणको आँखा अर्को घरको झ्यालमा प¥यो । उनी झस्के— झ्यालमा सुन्दरताकी मूर्ति, एउटी राम्री युवती । मुन्टो निहुराएर के के सोचे । मदनले बोलाएपछि मात्र उनी झल्याँस्स भए । 

मदनले तल चोकमा हेरे । त्यहाँ रङ्ग भरी भएको एउटा गाग्री थियो । उनले मकलका गोलहरू त्यहाँ खसाले, तर एउटै परेन र कमला दङ्ग भइन् । तुरुन्तै किरणले पनि यताउति खोजखाज गरी एउटा माटोको डल्लो गाग्रीमा सोझो खसाले । डल्लो चुर्लुम्म डुबेर रङ्ग छचल्कियो । कमलाका गाला लाजले राता भए । 

आफ्नो सफलतामा किरण केही हाँसेका थिए— कमलाले आफूलाई नै हेरेर हाँसेको भन्ठानिन् । उनी झन् भुतुक्क भइन् । 

कमलाले झटपट तल आएर रङ्ग राखेको गाग्री कौसीमा लगिन् र भिउँटमा खन्याइन् । टक्रक्क आएको शब्दले छामेर टिप्ता उनी जिल्ल परिन्— सेतो एक मोहर हातमा प¥यो । अघि किरणबाट भएको चन्चलेपना सम्झिन् । अर्काको पैसा कसरी लिने ! —उनलाई द्विविधा प¥यो । अझ सोच्न थालिन्— देखेकै जस्तो त्यो को होला ! मन बुझाउन खोजेर पनि किरणको झल्को उनको मनबाट हट्न सकेन । किरण पनि कमलाको सुन्दर चित्र छातीमा टाँसेरै घर गए । 

यसरी पहिलो चोटि उनीहरूको हृदयमा कस्तो–कस्तो झङ्कृत चस्को पसेको थियो । 

पाँच–सात दिनपछि, एक तरङ्गले हिँडेका किरण कमलाकै घरपछाडि बगैँचाको पर्खालमुनिको गोरेटोतिर लागे । बेलुकीपख— साँझ पर्न–पर्न लागेको थियो । किरण बीच बाटामा पुगेपछि कसैले मधुरो स्वरमा भन्यो— “त्यो माला दिनुस् न ।” 

किरण टक्क रोकिए । कमला पर्खालमा थिइन् । उनले बगैँचामा बसी राम्रो फूलको माला गुँथेकी रहिछन् । उनको मन प्रसन्न गराउने माला खस्दा कति चित्त दुखेको थियो होला ! तल ओर्लन गा¥हो लागेर बाटो हिँड्ने मान्छेलाई भनेको त उही मदनको घरमा आएको मानिस पो रहेछ । कमलाले शिर निहुराइन् । मनले भन्यो— च्च ! व्यर्थै मागेछु । 

किरणले ठट्टामा भने— “पराई महिलालाई म फूलको माला कसरी दिऊँ ?” उनी हाँसिदिए । 

कमलाको छाती वेगले धड्क्यो । आफूले कति सीप लगाएर बनाएको फूलको माला छोड्न पनि सकिनन् । लजालु भावमै भनिन्— “बटारिएको कुरा किन ? धन्यवाद दिन्छु ।” 

माला दिएर किरण ग¥हौँ पाइलाले गइहाले । 

यस्तै किसिमले दोस्रो चोटि उनीहरूको हृदयमा प्रेमको कुतकुत्याइ पैदा भएथ्यो । 

अर्को दिन पनि किरण त्यही बाटो गए । कमलाले जानेरै फूलको माला खसालिन् र मागिन् । यसो गर्न उनलाई मीठो रहर लाग्यो । अरू दुई–चार दिन बिते । 

एक दिन किरणले माला पहिराइदिने सुरले हात बढाए । कमलाले डराएर भनिन्— “छाड्नोस्, अरूले देखे के भन्छन्— लौन !” 

“के भन्नु, दुई प्रेमी जोडी नयाँ संसार सिर्जंदै छन् ।” 

“कस्तो नकच्चरो मानिस !” 

दुवै एक–अर्काका हृदयमा टाँसिँदै थिए । सङ्कोच पनि हराउँदै थियो । किरणले भने— “कस्तो बिछट्ट राम्रो शरीर— कमलाको कोमल !” 

“कति फुक्र्याउन जानेको !” 

यसै गरी यौवनको खुट्किलोमा उनीहरूले मायापिर्ती बसालेका थिए । ती मीठा दिनका स्मृति र रमझममा दुवै आनन्दी र आत्मविभोर हुन्थे । 

कमलाले आफ्ना प्रियतमको अवस्था खप्न सकिनन् । उनको दाजु नारानले एक दिन किरण र उनी दुवैलाई बगैँचामा फेला पा¥यो र किरणलाई बेसरी कुट्यो । किरण दस–बा¥ह दिन फेरि त्यहाँ आउनै सकेनन् । कमलाको निमित्त यो घटना असह्य भयो । उनी भागेर किरणकहाँ पुगिन् । आफ्नो नाक छोप्न र भेद खुलाउन किरणले कमलालाई घरदेखि टाढा सुटुक्कै लुकाएर राखे । केही महिना सुख र रमाइलोसित बित्यो । 

कमलाले पेट बोकिछन् । किरण अतासिए । उनलाई अल्झो आइलागेजस्तो भयो । कमलासित बोल्न पनि झर्को लाग्यो । 

हुँदा–हुँदा कमलाका निम्ति आत्मसमर्पण गर्न सक्ने किरणमा अनौठो परिवर्तन आयो । कमलाप्रतिको उनको माया र सहानुभूति पर–पर सर्दासर्दै कमलादेखि एकदम घृणा नै लाग्न थाल्यो । उनले कमलाकहाँ आउन पटक्कै छाडिदिए । 

कमलाले देखिन्— किरणको वास्तविक प्रेमको रूप । उनले एकतमासको अनुहार पारी ’यसरी नै जीवन गुज्रन्छ अब ?’ भन्दा “धन्दा छैन, तिमीलाई म हृदय–मन्दिरकी देवी बनाएर राखिहाल्छु नि ।” —किरणले भनेका थिए । उनकै आश्रय र सहारामा कमला यहाँ आइन् । 

कति दिनसम्म उनले किरणलाई झ्याल–बार्दलीको सहायताबाट अँधेरी रातमा पनि कोठामा लगेकी थिइन् । भाग्ने अघिल्लो दिनसम्म घरमा धुनचक्र मच्चिएको थियो । कमलाले सबैका सम्मुख भनेकी थिइन्— “जातभातको सवाल छैन । जसले सच्चा प्रेम ग¥यो, उही जीवन साथी हुन्छ— मेरो प्राण किरण हो ।” 

कमला झलझली सम्झन्थिन्— कति फूलबुट्टा भरेका जस्ता कुराकानी, मीठा बातचित, अतीतका रमाइला दिन ! 

किरण झन् एक वर्षको तालिम लिन विदेशतिर गए । उनलाई उम्कन पाएकोमा असाध्य हर्ष लाग्यो । कमलाले यो कुरा पछि मात्र चाल पाइन् । उनलाई मुटुमा गोलीले हानेझैँ भयो । एक मन त लाग्यो— जसलाई आफ्नो ठानेर आएथेँ, उसैले यस्तो धोकामा पारेर सुइँकै नदिई हिँड्यो । जे हुनु भयो, जाऊँ क्यारे माइतै । तर उनलाई थाहा थियो— उनका बाबु–आमा आफ्नो जात, खानदान र धर्मलाई ठूलो मान्दथे । यसैको डरले उनीहरू कमलाको मुख हेर्न पनि पाप सम्झन्थे । ’छोरी भन्थी माइती माइती, माइती भन्थी किन आइथी’ गरेर के जाने ! उसमाथि बाहुन–पुत्री नेवारसित जानु— यो उनीहरूको लागि अक्षम्य अपराध थियो । ’पापिनीले कुलमा दाग लगाई, कुकर्मको फल भोग्छे’ भनेर अझै आफ्नो प्रतिष्ठा बचाउन उनलाई फौजदारीमा सुम्पन पनि तयार थिए । 

यस्तो जान्दाजान्दै माइत गएर आफूलाई थुनाउन उनी चाहँदिनथिन् । थुनिनुपर्ने अपराध त उनले क्यै गरेको छैन । जसले अर्काको जीवनलाई खेलबाड ठानेर धोका दियो, यस कुराको पो इन्साफ हुनुपर्छ । 

दुःख–सुख, चिन्ता–बिस्मात र भविष्यका कुरा मनमा खेल्दाखेल्दै कमला बौलाहिनीझैँ भइन् । उनी घुँक्कघुँक्क गरेर रोइरहिन् । 

कमला रोएको घरभेटी प्यारुले देख्यो । कमलाको रुवाइको कारण राम्रो नबुझे तापनि उनीप्रति उसलाई दया र सहानुभूति जाग्यो । उसले कमलालाई सोध्यो— “किन रुनुभो मैयाँ ?” 

कमलालाई छाती चिरेर आफ्नो व्यथा देखाऊँझैँ लाग्यो । उनले आफ्ना सबै विरहगाथा रुँदै–रुँदै प्यारुलाई सुनाइन् । उनले भन्यो— “अब रोएर के गर्नुहुन्छ ? बेमानीले धेरै दुःख दिएछ । आत्तिएर काम बन्दैन, धैर्य लिनोस् । तपाईं पढ्न लेख्न र बुझ्न जान्नुहुन्छ । यहाँ बसेर यिनै काम गर्नोस्, गुजारा चलिहाल्छ ।” 

प्यारुका कुरालाई उनले बालक फुलिएझैँ भई मन्जुरी दिइन् । 

कमला पुस महिनाको पहार तापेर स्वीटर बुनिरहेकी थिइन् । दुई वर्षको सन्चु खुर्र–खुर्र दगुरेर आफ्नै धुनमा खेल्न मस्त थियो । 

केही दिनदेखि उनको मानसिक स्थिति खलबलिइरहेको थियो । उनको मनमा अनेक किसिमका विचार र कल्पना खेल्दथे— बाबुआमालाई उनको चासो छैन । किरण घर फर्किसकेका छन्— उनैकहाँ गएर दुक्ख पोखी, बाचा सम्झाएर बसूँ कि ? …… तर, जसले जीवनमा उनलाई यस 

परिस्थितिमा छाड्यो, उसैकहाँ गएर के उनी सुखी होलिन् ?… असम्भव ! 

प्यारु ! साँच्चै नाउँअनुसारको मान्छे छ । उसले बताएका उपायमा लागेर उनले जीवन गुजारा गर्न सकिन् । उसले कमलालाई कतिका कुरामा सहायता गरेको छ ! डेराको बहाल पनि उसले एक पैसा लिएन । 

उनी अझ तर्कनामा बग्दै गइन्— प्यारु उनको छोरालाई कति माया गर्छ ! सधैँ पापा ल्याएर खान दिन्छ, च्वाक्क म्वाइँ खाँदै कुदाएर खेलाउँछ । सन्चु पनि उसलाई ’बा’ भनेर बोलाउँछ । तर, किरण ? ऊ त अर्को बिहे गर्दै छ रे ! उसकहाँ जाने त कुरै भएन । ऊ उल्टै थाहा नपाएजसरी भन्छ रे— “प्यारुचाकी स्वास्नी, त्यस बेस्सेको पनि कुरा गर्नु ? कानै अपवित्र !” हावाले बोकेर ल्याएझैँ गरी यी कुरा उनले थाहा पाइन् । 

“म बेस्से, प्यारुचाकी स्वास्नी रे !” उनको मुटु फुल्यो, तर पनि सफाइ दिन चाहिनन् । 

उनले गौड गरेर पुराना कुरा सम्झिन्— प्यारु !… जसले उनलाई निमोनियाँ भइसकेको बेलामा बचायो । प्रतिदिन उनको छातीमा अदुवाको रस निचोरेर दल्यो, आगोले सेकिदियो, कपास राखेर छाती तातो पारिदियो, औषधी–उपचार गयो । अनि खुट्टा सुनिँदा मालिस लगाएर मिचि पनि दियो । 

प्यारुले उनलाई दिलैदेखि सेवा ग¥यो । मान्छे भनेको यस्तो पो हुनुपर्छ ! हुनत किरण प्यारुभन्दा राम्रो छ, लायकको पनि छ, भएर के ! प्यारुको दिल र किरणको दिलमा अक्कास–पत्तालको फरक छ । 

बेलुकाभरि कुरा गरेर पनि नपुगेर किरण आफ्नै हातले कमलालाई चिठी दिएर जान्थे । यी सब वासनातृप्तिका बनावटी अभिनय उनलाई पत्तो भएन । 

तर, प्यारु एक–डेढ महिना मधेसतिर जाँदा पनि कमलालाई नै ताल–साँचो, घर सबै सुम्पेर गएको थियो । यति थोरै समय अन्त जाँदा पनि घरको हालखबर, सन्चो–बिसन्चोबारे उसले कतिवटा चिठी पठाएको थियो ! उनलाई ती चिठीले सान्त्वना र भरोसा दिन्थे । उनका लागि प्यारु कत्रो खातिरी, सेवा र त्याग गर्दथ्यो ! 

प्यारु उनलाई प्रेम गर्छ— भित्री हृदयले प्रेम गर्छ । उसले यी कुरा कहिल्यै मुखले प्रकट गरेन, तर कमलालाई थाहा पाउन गा¥हो परेको थिएन । 

अस्ति मात्रै उनले प्यारुको काखमा पल्टेको, उससित मीठो कुराकानी गरेको सपना देखिन् । 

फेरि, उसको घरमा पनि त कोही छैन । बिचरा ! स्वास्नी मरिसकेकी थिई । एक्लै भात पकाउँदा, सब काम गर्दा उसलाई कति दुःख हुन्थ्यो ! कमलाले पकाएर खान दिँदा ऊ ज्यादै रमाउँथ्यो । उनको स¥हनी गथ्र्यो र आफूलाई आत्मसन्तुष्टि भएको पाउँथ्यो । 

कति गुनिलो र मायालाग्दो छ प्यारु ! 

यसरी सम्झँदा–सम्झँदै, कल्पनामा उड्दा–उड्दै कमला एक्लै मुस्कुराइन् । आखिरमा उनले प्यारुसितै जीवन बिताउने सङ्कल्प गरिन् । 

Leave a Comment