मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ ।
मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्यो । रुखका नाङ्गा हाँगाहरू आकाशतिर फर्किएर कुनै मौन प्रार्थना गरिरहेझैँ देखिन्थे । कसोकसो आँखा हेदरको मूलढोकामा पर्यो । ढोकैनिर गत्तामा गाढा नीलो मसीले लेखिएको साइन थियो— ‘यार्ड सेल’ । मलाई केही किन्नु त थिएन, तर पनि मेरा पाइलाहरू अनायासै हेदरका चौरतिर मोडिए ।
हेदर अर्थात् सिन्सिनाटी, ओहायोको मेरी छिमेकी । एकासी वर्षीया रैथाने अमेरिकन । गत साता मात्र दुई दिन थलिएर उनी संसारबाटै बिदा भएकी थिइन् । शान्त, मिजासिली र सहयोगी स्वभावकी हेदरको अन्त्येष्टिका बेला मेरा पनि आँखा नरसाइरहन सकेनन् ।
एउटा सिङ्गो जीवनका अवशेषहरू चौरमा असरल्ल छरिएका थिए । पुराना भाँडाकुँडा, लेस बुनिएका टेबलक्लोथ, रङ उडेका तस्बिरका फ्रेमहरू, पुराना दूरबिन र क्यामेराहरू, केही थान गरगहना र लत्ताकपडा, थरीथरीका फर्निचर, सत्तरीको दशकका ‘नेसनल जियोग्राफिक’ पत्रिका र केही किताबहरू । कसैको जिन्दगीको अनमोल इतिहास आज मात्र केही डलरमा नयाँ मालिक पर्खिरहेको थियो ।
हेदरका नातिनातिना, जसले वर्षौंसम्म यो घरको बाटो बिराएका थिए, आज बडो व्यावसायिक बनेर प्रत्येक सामानको मूल्य तोक्दै यार्ड सेलमा आएका ग्राहकसँग मोलतोल गरिरहेका थिए । उनीहरूका लागि ती सामानहरू ठाउँ ओगट्ने कबाड मात्र थिए, जसलाई चाँडोभन्दा चाँडो पन्छाएर उनीहरू यो घर ‘रियल इस्टेट’ मा सूचीबद्ध गर्न चाहन्थे ।
म कफीको चुस्की लिँदै हेदरको चौरमा बेढङ्गले फिँजाइएका ती निर्जीव तर बोल्न खोजिरहेका सरसामानमा आँखा नचाइरहेको थिएँ । खल्तीमा फोन थर्थरायोे । हतार–हतार फोन निकाल्दा स्क्रिनमा चम्कियो— ‘आमा, भिडिओ कल’ ।
नेपालबाट आमाको फोन आउँदा जहिले पनि मभित्र एउटा अज्ञात डरले डेरा जमाउँथ्यो । मैले हतारिँदै हरियो बटन थिचेँ र चौरको एउटा कुनामा सरेँ, जहाँ हेदरको पुरानो गुलाबको बोट चिसोले कठ्याङ्ग्रिएर ठिङ्ग उभिएको थियो ।
इन्टरनेटको कमजोर गतिका कारण स्क्रिनका पिक्सेलहरू फुट्दै र जोडिँदै गरे । मानौँ, प्रविधिले मेरो र मेरो विगतको दूरीलाई एउटा चर्किएको ऐनाले जसरी टुक्रा–टुक्रामा देखाउँदै थियो । केही सेकेन्डपछि स्क्रिन सङ्लियो । उता घाम ढल्किँदै गरेको गोधूलि साँझ थियो । क्यामेराको लेन्स अलि माथि फर्किएकाले सुरुमा मैले आमाको चाउरिएको निधार, उनले कोरेको सेतो कपालको सिउँदो र पछाडिकोे घरको धुरीजस्तो मात्र देखेँ ।
“हेलो बाबु ! सुन्दै छस् ?” आमाको स्वर फोनको स्पिकरबाट अलि खस्रो र थाकेको जस्तो सुनियो ।
“सुन्दै छु आमा ! तपाईं कहाँ हुनुहुन्छ ? त्यहाँ पछाडि केको होहल्ला छ ? के भइरहेछ त्याँ ?” मैले चस्माको सिसा पुछेर एकै सासमा सोधेँ । मेरो आवाजमा सिन्सिनायटी, ओहायोको चिसो हावाभन्दा बढी एउटा चिसो डर मडारिरहेको थियो ।
ठ्याक्कै त्यही बेला, यता यार्ड सेलमा एउटी रैथाने महिलाले हेदरको त्यो पुरानो, खैरो रङको ‘रकिङ चेयर’ मात्र पाँच डलरमा किनेर आफ्नो पुरानो कारको डिकीमा जसोतसो कोची । त्यो त्यही कुर्सी थियो, जसमा बसेर हेदर दिनभरि आफ्ना हातका औँलाहरू फर्काउँदै, उनकै भाषामा ‘विगतका बुट्टाहरू’ बुन्ने गर्थिन्, घण्टौँ किताबमा भुल्थिन् र छोरा अनि नातिनातिनाको बाटो हेर्थिन् । हेदरका दैनिकीको लामो साक्षीको अन्त्य त्यसरी मात्र पाँच डलरमा भयो ।
उता फोनको स्क्रिनमा, आमाको फोनको क्यामेरा अलि तल सर्यो । आमा सिकुवाको गुन्द्रीमा बस्नुभएको थियो । उहाँको अनुहारमा साँझको मधुरो प्रकाश थियो, तर आँखा ओसिला देखिन्थे । उहाँको पछाडि हाम्रो त्यो विशाल आँगन थियो, जहाँ मेरो बाल्यकालका अनगिन्ती पाइलाका डोबहरू थिए । रातो माटो र गोबरले लिपिएको त्यो आँगन आज अनौठो र बिरानो लागिरहेको थियो । घरको मूलढोकाको देब्रे खोपामा काठको ठेकी थिएन, मकै सुली रित्तो थियो र ढोकाको सँघारमा पूजा गर्ने तामाको दियो थिएन ।
कम्मरमा खुकुरी र हातमा नाप्ने फित्ता, मानिसहरू पिँढीबाट बाको पुरानो सन्दुक र आमाको दाइजोमा आएको दराज आँगनमा निकालिरहेका थिए ।
यता यार्ड सेलमा दुई जना बलिया अश्वेत युवाहरू ओक काठले बनेको हेदरको गर्हुँङ्गो खाट उठाउँदै थिए । त्यो त्यही खाट थियो, जहाँ उनले आफ्ना सपनाहरू देखिन्, जहाँ उनका छोराछोरी जन्मिए र जहाँ उनले आफ्नो अन्तिम सास फेरिन् । उनीहरूले त्यो खाटलाई ‘युहल’को भाडाको ट्रकमा हुत्याए । एउटा मान्छेको अन्तिम विश्रामस्थल यसरी सडकमा घिसारिँदै गर्दा एउटा धातुको कर्कश आवाज सुनियो, जुन मेरो कानको जाली छेडेर भित्रैसम्म पुग्यो ।
“बाबु !” आमाले एउटा लामो सुस्केरा हाल्नुभयो । मलाई लाग्यो, त्यो सुस्केराको तातो बाफ हजारौँ माइलको प्रशान्त महासागर पार गरेर मेरो फोनको स्क्रिन हुँदै मेरो अनुहारसम्मै आइपुग्यो । “आज मालपोतमा गएर लालपुर्जा पास गरिदिएँ बाबु ! अब यो घर, यो आँगन हाम्रो रहेन ।”
मेरो हातको कफीको मग फुत्तै भुइँमा झर्यो । सायद आमाले पनि चाल पाएको हुनुपर्छ । मेरो हात र औँलाहरू अररा भए । घाँटीमा अचानक काँचो निबुवाको टुक्रा आएर अड्किएजस्तो, निल्नु न ओकल्नुझैँ भयो ।
“जेठाले पनि त्यही भन्यो बाबु,” आमाले फरियाको छेउले आँखाको डिलतिर पुछ्दै भन्नुभयो, “तँ सात समुद्रपारि छस्, फर्केर आउने ठेगान छैन । जेठा र बुहारी अनि नातिनातिना पनि सहरमै रमाएका छन् । यो गाउँको बूढो घर कुर्ने को छ र बाबु अब ? भत्किएर खण्डहर हुनुभन्दा किन्ने मान्छेले किन्छु भन्दा मैले नाइँ भनिनँ । आखिर म पनि त डाँडाको जून भइहालेँ क्यार !”
माथि आकाशमा गजधुम्म बादल तेर्सिए । मेरा मनमा पनि काला बादल मडारिए । आँखामा गाउँको घरआँगन झलझली नाच्न थाल्यो । घर दायाँपट्टिको निबुवाको बोट, जसको हाँगामा दाइ र म चढेर मच्चिन्थ्यौँ । असोजको महिनामा जब त्यसमा लटरम्मै भएर पहेँला



